काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेतृत्वले सातै प्रदेशका पार्टी सभापति, कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेताहरूसँग वर्तमान राजनीतिक अवस्थाबारे छलफल गरेको छ।
पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायत नेताले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित प्रदेश सभापतिहरूसँग छलफल गरेका हुन्।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको सचिवालयका अनुसार पछिल्लो समय केन्द्रमा विकसित राजनीतिक समीकरण र त्यसको प्रदेश सरकारमा पर्ने प्रभावका विषयमा छलफल केन्द्रित रहेको थियो। प्रदेशमा पार्टीको आगामी भूमिका र रणनीतिबारे पनि नेतृत्वबीच विचारविमर्श भएको जनाइएको छ।
नेकपा एमाले र नेकपाबीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति भएपछि त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिस्थितिको समीक्षा गर्दै कांग्रेसले आफ्नो भावी रणनीति तय गर्न प्रदेश नेतृत्वसँग परामर्श गरेको हो।




















