काठमाडौं । धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारका थप दुई प्रतिनिधि धनगढी पुगेका छन्।
प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरको विमानमार्फत धनगढी पुगेका हुन्।
यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै मन्त्री सस्मित पोखरेलको निर्देशनमा धनगढी पुगिसकेका छन्।
शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोनमा संवाद गरेका थिए। त्यसलगत्तै वार्तामार्फत अनशनको सहमतिपूर्ण निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको थियो।
धनगढी पुगेको सरकारी टोलीले आजै डा. केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले संवादमार्फत सत्याग्रहको सहमतिपूर्ण समाधान खोज्ने प्रयास गरिरहेको जनाएको छ।
यसैबीच, स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार डा. केसीलाई शनिबार नै सेती प्रादेशिक अस्पतालमा राखिएको छ।




















