रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शनिबार दिउँसो गएको पहिरोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गाईबाख्रा चराउन गएका स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगर पहिरोमा पुरिएका थिए। स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा साँझ दुवै जनाको शव पहिरोबाट निकालिएको हो।
घटनामा ६० वर्षीय कुले घर्ती मगर घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि सेरम स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पंचकुमार बाखुले जानकारी दिए।
पहिरोमा चार वटा बाख्रा र दुई वटा गाईसमेत पुरिएका थिए। ती चौपायालाई पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ।



















