काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै वामपन्थी शक्तिहरूबीच साझा कार्यक्रम र एकताको आवश्यकता रहेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले नेपाल संवेदनशील भूराजनीतिक अवस्थाबाट गुज्रिरहेको दाबी गर्दै चीनविरोधी गतिविधिलाई नेपालले अनुमति दिन नहुने राजनीतिक दलहरूको विगतदेखिको साझा धारणा रहेको उल्लेख गरे।
‘चीनविरोधी गतिविधि हुन हामी दिने छैनौँ भन्ने कुरा सबै राजनीतिक दलले दशकौँदेखि भन्दै आएका हुन्। तर यसपटक त्यो उल्लंघन भयो। दलाई लामाको जन्मोत्सव मनाइयो। अब नेपालमै अर्को दलाई लामा बनाउने हल्लासमेत चलाइएको छ,’ उनले भने।
प्रचण्डले जनताले संघर्षबाट प्राप्त गरेका अधिकारमाथि हस्तक्षेप भइरहेको दाबी गर्दै उत्पीडित वर्ग, समुदाय र श्रमिकका अधिकार कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाए।
‘जनताले प्राप्त गरेका उपलब्धि खोस्ने, उत्पीडित वर्ग र समुदायमाथि निरंकुशता लाद्ने प्रयास भइरहेको छ। यसको प्रतिवादका लागि साझा कार्यक्रम आवश्यक छ,’ उनले भने।
उनले किसान, मजदुर, गरिब तथा सीमान्तकृत समुदायका अधिकारमाथि चुनौती थपिएको उल्लेख गर्दै त्यसविरुद्ध राजनीतिक रूपमा संगठित हुनुपर्ने धारणा राखे।
वामपन्थी शक्तिहरूले संसद, सडक र आगामी निर्वाचन तीनै मोर्चाबाट संघर्ष गर्नुपर्ने बताउँदै प्रचण्डले ठूलो जनपरिचालनको आवश्यकता औँल्याए।
‘हामी उनीहरूले जस्तै शैलीमा लड्दैनौँ, आफ्नै तरिकाले लड्छौँ। तर एकै दिनमा धेरै कुरा उल्ट्याउन सकिँदो रहेछ भन्ने उदाहरण उनीहरूले देखाएका छन्। त्यसबाट पनि हामीले केही सिक्नुपर्छ,’ उनले भने।
उनले भदौ आन्दोलनको उदाहरण दिँदै सबै वामपन्थी दल साझा न्यूनतम कार्यक्रमसहित एकजुट भए मुलुकका जुनसुकै चुनौतीको सामना गर्न सकिने विश्वास व्यक्त गरे।
देशभरबाट लाखौँ नागरिकलाई काठमाडौं तथा जिल्ला सदरमुकामहरूमा परिचालन गर्न सके राजनीतिक दबाब सिर्जना गर्न सकिने उल्लेख गर्दै उनले सबै वामपन्थी शक्तिलाई साझा रणनीतिमा छलफल गर्न आह्वान गरे।




















