धनगढी । धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनिश्चितकालीन सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न कृष्ण मन्दिर व्यवस्थापन समितिले पत्र दिएको छ।
व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई धर्मशाला छाड्न अनुरोध गर्दै पत्र हस्तान्तरण गरिएको पुष्टि गरेका छन्।
अध्यक्ष पन्तका अनुसार डा. केसी धर्मशालामा बस्ने जानकारी दिएर आएका भए पनि सत्याग्रह सुरु गर्नेबारे व्यवस्थापन समितिलाई पूर्वजानकारी दिइएको थिएन। धार्मिक संस्थामा सत्याग्रह गर्न दिएको भन्दै विभिन्न पक्षबाट दबाब आउन थालेपछि धर्मशाला खाली गर्न अनुरोध गरिएको उनले बताए।
यद्यपि, उक्त दबाब कसबाट आएको भन्ने विषयमा पन्तले खुलाउन चाहेनन्। बिहीबार बिहान अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले डा. केसीलाई धर्मशालामा सत्याग्रह गर्न नदिन आग्रह गरेको जानकारी सार्वजनिक भएको छ।
व्यवस्थापन समितिको पत्रपछि डा. केसीले अबको कदमबारे सहयोगीहरूसँग छलफल गरिरहेको उनका सहयोगी डा. अमृत जैसीले बताए। उनका अनुसार डा. केसीले धर्मशालामा सत्याग्रह सुरु गर्नुअघि आवश्यक जानकारी दिएकै भए पनि अहिले कुन कारणले स्थान छाड्न भनिएको हो भन्ने स्पष्ट जानकारी प्राप्त भएको छैन।
डा. गोविन्द केसी विभिन्न पाँच बुँदे माग अघि सार्दै बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट अनिश्चितकालीन सत्याग्रहमा बसेका छन्।


















