काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भएपछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन्।
बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्रपछिका राजनीतिक, सामाजिक तथा भौतिक विकासका उपलब्धिलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको दाबी गरे।
उनले गणतन्त्रपछि भौतिक पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै ती उपलब्धिलाई अपमानित र बदनाम गर्ने अभियान चलाइएको आरोप लगाए।
‘नेपालमा गणतन्त्र आएपछि भएका धेरै सकारात्मक परिवर्तनमाथि अत्यन्तै नकारात्मक ढङ्गले झूटो प्रचार गरिएको छ। भौतिक पूर्वाधार क्षेत्रमा भएको अभूतपूर्व विकास, शिक्षा र स्वास्थ्यमा हासिल भएका उपलब्धिलाई समेत अवमूल्यन गर्ने प्रयास भइरहेको छ,’ उनले भने।
प्रचण्डले यस वर्षको पुष्पलाल स्मृति दिवसलाई श्रद्धाञ्जली अर्पण गर्ने अवसर मात्र नभई गणतन्त्रका उपलब्धि तथा पुष्पलालको विचारबाट प्रेरित परिवर्तनमाथि भइरहेको ‘प्रतिगामी हमला’ विरुद्ध नयाँ अभियान सुरु गर्ने संकल्पका रूपमा लिएको बताए।
उनले प्रतिगामी शक्तिहरूले गणतन्त्र र परिवर्तनका उपलब्धिलाई कमजोर पार्ने प्रयास गरिरहेको दाबी गर्दै त्यसको प्रतिवाद गर्न वैचारिक रूपमा सशक्त अभियान आवश्यक रहेको बताए।
प्रचण्डले पुष्पलाल प्रतिष्ठानको भौतिक संरचनाको पुनर्निर्माणसँगै वैचारिक पुनर्जागरणलाई पनि प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे। उनले सामन्तवाद, साम्राज्यवाद र निरंकुशताविरुद्ध प्रभावकारी संघर्ष गर्न नेपालको इतिहास, वर्गीय संरचना र सामाजिक विकासक्रमबारे गहन अध्ययन–अनुसन्धान आवश्यक रहेको बताए।




















