काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा नेपालको वाम आन्दोलनले केही धक्का खेपे पनि पुनः सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ओलीले पुष्पलाल श्रेष्ठ र बीपी कोइरालालाई नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनका महान् हस्तीको रूपमा स्मरण गरेका हुन्।
‘पुष्पलाल र बीपी नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनका महान् हस्ती हुनुहुन्थ्यो। उहाँहरू दुवै नेपालको राजनीतिक र सामाजिक परिवर्तनका बहुआयामिक तथा शिखर व्यक्तित्व हुनुहुन्छ,’ ओलीले उल्लेख गरेका छन्। उनले दुवै नेताको योगदानप्रति सम्मान व्यक्त गर्दै उनीहरूबाट प्रेरणा लिएर अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन्।
ओलीले पुष्पलाललाई नेकपाका संस्थापक महासचिव मात्र नभई नेपाली राजनीतिका गहन विश्लेषक, इतिहासकार, व्याख्याता, राजनीतिक साहित्यका प्रखर चिन्तक तथा आफ्ना विचारलाई स्पष्ट निष्कर्षमा पुर्याउन सक्ने असाधारण व्यक्तित्वका रूपमा चित्रण गरेका छन्।
उनले पुष्पलाल राणा शासनविरुद्ध १९९७ सालमा शहीद भएका गंगालाल श्रेष्ठका माइला भाइ रहेको स्मरण गर्दै राजनीतिक आन्दोलनलाई जनताको जीवनसँग जोड्ने नेताका रूपमा उनको योगदानको प्रशंसा गरेका छन्।
सन्देशमा ओलीले पुष्पलाल र बीपी दुवैले राणा शासन, पञ्चायती अधिनायकवाद र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेको उल्लेख गरेका छन्। साथै, लोकतान्त्रिक र कम्युनिस्ट शक्तिहरूबीच सहकार्य गरेर पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्नुपर्ने पुष्पलालको अवधारणालाई तत्कालीन एमाले महासचिव मदन भण्डारीले व्यवहारमा कार्यान्वयनको दिशामा अघि बढाएको पनि उनले बताएका छन्।
‘पुष्पलालका धेरै नीति आज पनि उत्तिकै सान्दर्भिक छन्। मदन भण्डारीको नेतृत्वमा एमालेले ती नीतिलाई कार्यान्वयन गर्ने प्रयास गरेको थियो,’ ओलीले भनेका छन्। ‘अहिले आन्दोलनले केही धक्का खाएको भए पनि यो फेरि अघि बढ्नेछ। पुष्पलाल र बीपीबाट प्रेरणा लिएर हामी फेरि उठ्नेछौँ र अगाडि बढ्नेछौँ।’




















