काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै जना नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाबारे मंगलबार सबै मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा कडा रूपमा अघि बढ्ने स्पष्ट पारे।
उनले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म सबैले जनताको विश्वास र राजनीतिक जिम्मेवारीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै राज्य सञ्चालनमा जवाफदेहिता र पारदर्शितालाई प्राथमिकता दिनुपर्ने बताए।
वाग्लेले सरकारले सुशासनका विषयमा स्पष्ट दृष्टिकोण बनाएको र भ्रष्टाचारप्रति शून्य सहनशीलता (Zero Tolerance) को नीति दृढतापूर्वक कार्यान्वयन गरिने बताए।
उनले विगतका विकृति र विसंगति अन्त्य गर्दै इमानदार र परिणाममुखी कर्मचारीतन्त्रलाई प्रोत्साहन गरिने पनि उल्लेख गरे। सरकारको क्षमता र उपलब्ध स्रोतअनुसार कर्मचारीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सुशासन कायम गर्न राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैको समान प्रतिबद्धता आवश्यक रहेको भन्दै जिम्मेवारी बहनमा कुनै सम्झौता नगर्ने बताए।




















