काठमाडौं । सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लागू गरेको छ। अर्थ मन्त्रालयले कर प्रोत्साहन उपहार सञ्चालन कार्यविधि स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयनमा आएको हो।
कार्यविधिअनुसार अब प्रत्येक दिन गोलाप्रथामार्फत एक जना उपभोक्तालाई नगद पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक महिना दुई जना भाग्यशाली उपभोक्ताले १०–१० लाख रुपैयाँको बम्पर उपहार जित्नेछन्।
उपहारका विजेता खरिद गर्दा प्राप्त हुने सक्कली बिलमा उल्लेख भएको बिल नम्बरका आधारमा छनोट गरिनेछ। हालका लागि प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन पाक्षिक रूपमा नतिजा सार्वजनिक गर्ने व्यवस्था गरिएको छ।
कार्यक्रममा भ्याट र प्यानमा आबद्ध व्यवसायबाट कम्तीमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गरी नगद वा विद्युतीय माध्यमबाट भुक्तानी गरेका तथा सक्कली बिल लिएका उपभोक्ता सहभागी हुन सक्नेछन्। होटल, रेस्टुरेन्ट वा अन्य कुनै पनि कारोबारमा १०० रुपैयाँभन्दा बढीको खरिद गर्दा सक्कली बिल लिनुपर्ने व्यवस्था गरिएको छ।
प्रत्येक योग्य खरिद बीजक तथा विद्युतीय भुक्तानीका आधारमा प्रणालीबाट एउटा उपहार टिकट स्वतः उपलब्ध हुनेछ। प्रणालीमा प्रविष्ट विवरणको स्वचालित प्रमाणीकरणपछि मात्र उक्त टिकट उपहार योजनामा समावेश हुनेछ।
कार्यविधिअनुसार प्रत्येक महिनाको १ गतेदेखि मसान्तसम्म भएका योग्य कारोबार कार्यक्रममा समावेश हुनेछन्। विजेता छनोट पाक्षिक रूपमा गरिनेछ, जहाँ अघिल्लो अवधिका प्रणालीमा प्रविष्ट भएका योग्य बीजकहरूलाई आधार बनाइनेछ।
सरकारले उपहार विजेता छनोट प्रक्रिया पारदर्शी बनाउन उच्चपदस्थ व्यक्ति, सम्बन्धित निकायका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिलाई पनि उपस्थित गराउन सकिने व्यवस्था गरेको छ। छनोट भएका विजेतालाई मोबाइल नम्बर र इमेलमार्फत जानकारी गराइने कार्यविधिमा उल्लेख छ।




















