बारा । बारामा तीव्र गतिमा रहेको मिनी ट्रक अनियन्त्रित भई घरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक सोमबार राति करिब १२:३० बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा.१ क ४८३६ नम्बरको टाटा कम्पनीको खाली मिनी ट्रक अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो।
दुर्घटनामा ट्रकमा सवार कलैया उपमहानगरपालिका–४ निवासी ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा सोही राति प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसै दुर्घटनामा जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलीप्रति निवासी करिब ५० वर्षीय देवनारायण चौधरी घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरीले ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानिपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
ट्रकको ठक्करबाट स्थानीय सुरेश साह कानुको घरको एकातर्फको पर्खालसमेत भत्किएको प्रहरीले जनाएको छ।

















