काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गर्ने नयाँ एक रुपैयाँको सिक्काको डिजाइनलाई लिएर भारतीय सञ्चारमाध्यमहरूले विभिन्न दाबी गर्न थालेपछि यस विषयले नयाँ बहस सिर्जना गरेको छ।
भारतीय समाचार च्यानल आजतक लगायतका केही सञ्चारमाध्यमहरूले नेपालले नयाँ सिक्काबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा हटाउन लागेको दाबी गरेका छन्। उनीहरूको दाबीअनुसार भारत–नेपालबीच जारी कूटनीतिक संवादका बीच नेपालले नयाँ सिक्कामा विवादित क्षेत्रहरू समेटिएको नक्सा नराख्ने तयारी गरेको हो।
भारतीय सञ्चारमाध्यमहरूले यसलाई भारतको कूटनीतिक सफलताका रूपमा प्रस्तुत गर्दै नेपाल नक्सा विवादमा पछि हट्न लागेको दाबी गरेका छन्।
तर, नेपालले यसअघि नै संविधान संशोधनमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई आधिकारिक मान्यता दिइसकेको छ। उक्त नक्सा नेपालको संविधानको अनुसूचीमा समेत समावेश गरिएको छ।
यसैबीच, नेपाल सरकारले एक रुपैयाँको नयाँ सिक्कामा हाल रहेको नेपालको नक्साको सट्टा मुस्ताङस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको घार गुम्बाको चित्र राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को उक्त निर्णय सार्वजनिक भएसँगै देशभित्र पनि यसको पक्ष–विपक्षमा बहस सुरु भएको छ।
सरकारको निर्णयपछि भारतीय सञ्चारमाध्यमहरूले सिक्काबाट नेपालको नक्सा हटाइनुलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्बन्धी नेपालको अडान कमजोर भएको संकेतका रूपमा व्याख्या गर्न थालेका छन्। विशेषगरी आजतकले यसलाई नेपाल–भारतबीचको नक्सा विवाद समाधानतर्फको सकारात्मक संकेत भन्दै प्रसारण गरेको छ।
यद्यपि, सरकारले सिक्कामा नक्साको सट्टा घार गुम्बाको चित्र राख्ने निर्णय गर्नु र नेपालको आधिकारिक राजनीतिक नक्साबारे राज्यको संवैधानिक अडान परिवर्तन हुनु फरक विषय हुन्। हालसम्म नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्बन्धी आफ्नो आधिकारिक नक्सा वा संवैधानिक व्यवस्थामा कुनै परिवर्तन भएको जानकारी दिएको छैन।
यस विषयमा सरकारले औपचारिक धारणा सार्वजनिक नगरे पनि भारतीय सञ्चारमाध्यमहरूमा आएका दाबीहरूले नेपालभित्र पनि राजनीतिक तथा कूटनीतिक बहसलाई थप चर्काएको छ।




















