काठमाडौं । संघीय संसद्का सदस्यहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार संघीय संसद्का सदस्यहरूले राजपत्राङ्कित तृतीय श्रेणी सरहका एक जना स्वकीय सचिव नियुक्त गर्न पाउने व्यवस्था गरिएको छ।
राजपत्रमा उल्लेख भएअनुसार प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले राजपत्राङ्कित प्रथम श्रेणी सरहका एक जना प्रमुख स्वकीय सचिव राख्न पाउनेछन्। साथै, उनीहरूले स्वकीय द्वितीय श्रेणी र तृतीय श्रेणीका एक–एक जना गरी थप दुई जना कर्मचारी राख्न सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, विपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, प्रमुख सचेतकहरू तथा संसदीय समितिका सभापतिहरूले पनि राजपत्राङ्कित द्वितीय श्रेणी सरहका स्वकीय सचिव राख्न पाउने व्यवस्था लागू भएको छ।
स्वकीय सचिवालयमा नियुक्त हुने कर्मचारीहरूले सम्बन्धित पदको प्रारम्भिक तलबमान (सुरु स्केल) अनुसारको पारिश्रमिक मात्र पाउने व्यवस्था गरिएको छ।
राजपत्रमा स्वकीय सचिवालयका कर्मचारीले प्राप्त गर्ने तलब तथा अन्य पारिश्रमिक प्रचलित कानुनबमोजिम बैंक खातामार्फत उपलब्ध गराइने उल्लेख गरिएको छ।
सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन स्वकीय सचिवालयसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ।




















