विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका दुई शिक्षक र एक विद्यालय चालक छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन्। भट्टराई विद्यालयका सवारी चालक हुन् भने गच्छदार र मास्के शिक्षक हुन्।
छात्रामाथि दुर्व्यवहार भएको आरोप सार्वजनिक भएपछि विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेकामाथि विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको आरोप लागेको छ।
घटनामा यौनजन्य दुर्व्यवहारसमेत भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धानको दायरा थप फराकिलो बनाएको जनाएको छ। डीएसपी मिश्रले घटनाका सबै पक्षमाथि अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्।


















