हेटौंडा । नेकपा (एमाले)ले पार्टी केन्द्रबाट औपचारिक निर्देशन नआएसम्म बागमती प्रदेश सरकारबाट नबाहिरिने निर्णय गरेको छ।
सोमबार काठमाडौंमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै तत्काल सरकार छाड्ने वा समर्थन फिर्ता लिने निर्णय नगर्ने निष्कर्ष निकालेको हो।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले केन्द्रको निर्देशन र अन्य राजनीतिक दलसँगको छलफलपछि मात्रै आगामी कदम तय गरिने बताए।
उनका अनुसार पछिल्ला दिनमा राजनीतिक परिस्थिति तीव्र रूपमा परिवर्तन भइरहेकाले अहिले नै सरकार छाड्ने वा सरकारमै रहनेबारे कुनै औपचारिक निर्णय गरिएको छैन। बदलिँदो समीकरणलाई ध्यानमा राख्दै पार्टी नेतृत्वसँग समन्वय र अन्य दलसँग संवादलाई निरन्तरता दिने सहमति भएको उनले जानकारी दिए।
बैठकमा सहभागी बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेलले पनि पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएसम्म एमालेका मन्त्रीहरू सरकारमै रहने बताए। उनले पछिल्ला दिनमा सामूहिक राजीनामाबारे चर्चा भए पनि त्यससम्बन्धी कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पारे।
पौडेलका अनुसार हालका लागि नेपाली कांग्रेससँगको सत्ता सहकार्य यथावत् रहेको छ। केन्द्रमा विकसित राजनीतिक घटनाक्रमबारे पार्टीभित्र छलफल भइरहे पनि बागमती प्रदेश सरकारको भविष्यबारे कुनै ठोस निर्णय भइसकेको छैन।
उनले मन्त्रालय पुनर्संरचना, कार्यविभाजन तथा बिना विभागीय मन्त्रीहरूको व्यवस्थापनलगायत विषयमा पनि पार्टीको माथिल्लो तहमा छलफल भइरहेको जानकारी दिए। पार्टीको औपचारिक निर्देशन प्राप्त भएपछि आवश्यक निर्णय कार्यान्वयन गरिने र त्यसअघिसम्म सरकारका नियमित कामकारबाहीलाई निरन्तरता दिइने उनले बताए।
केन्द्रमा नेपाली कांग्रेस–एमाले गठबन्धनको भविष्यबारे अन्योल कायम रहेका बेला बागमती प्रदेशको सत्ता समीकरणबारे पनि विभिन्न अड्कलबाजी भइरहेका छन्। यद्यपि एमालेले पार्टीको आधिकारिक निर्णय नआएसम्म सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने कुनै कदम नचाल्ने स्पष्ट संकेत दिएको छ।




















