काठमाडौं । नेकपा (एमाले)का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्रै सरकारको नेतृत्व गरेको दाबी गर्दै पार्टीमाथि गलत भाष्य निर्माण गर्न खोजिएको बताएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले पछिल्लो समय ‘३५ वर्षमा तिमीहरूले के गर्यौ ?’ भन्ने प्रश्नमार्फत आम नागरिकमा भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गरेका छन्। उनले राजनीतिक इतिहास र तथ्यांकले यस्तो भाष्य पूर्णतः असत्य सावित गर्ने बताएका छन्।
आचार्यका अनुसार संसदीय व्यवस्थाको ३५ वर्षे अवधिमा तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा २८६ दिन, माधवकुमार नेपालको नेतृत्वमा ६२३ दिन र झलनाथ खनालको नेतृत्वमा २०५ दिन एमालेले सरकारको नेतृत्व गरेको थियो।
त्यस्तै, पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तीन कार्यकालमा क्रमशः २९८ दिन, १ हजार २४४ दिन र ४२५ दिन गरी कुल १ हजार ९६७ दिन अर्थात् ५ वर्ष ४ महिना २२ दिन सरकारको नेतृत्व गरेको उनले उल्लेख गरेका छन्।
यी सबै कार्यकाल जोड्दा एमालेले ३५ वर्षमा कुल ३ हजार ८१ दिन अर्थात् ८ वर्ष ५ महिना ११ दिन मात्रै सरकारको नेतृत्व गर्ने अवसर पाएको र बाँकी करिब २७ वर्ष अन्य राजनीतिक दलहरूले शासन सञ्चालन गरेको आचार्यको दाबी छ।
आचार्यले एमालेले नेतृत्व गरेको छोटो अवधिमै सामाजिक सुरक्षा भत्ताको सुरुवात र विस्तार, सुशासनको प्रवर्द्धन, राष्ट्रियताको सुदृढ अडान तथा ठूला पूर्वाधार निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भएको उल्लेख गरेका छन्। नागरिकका आशा र भरोसालाई पुनर्जीवित गर्ने काम पनि एमाले नेतृत्वकै सरकारले गरेको उनको भनाइ छ।
भ्रमपूर्ण प्रचारभन्दा तथ्य र तथ्यांकका आधारमा राजनीतिक मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै आचार्यले जनताका प्रश्नबाट एमाले नभाग्ने र उत्तरदायित्व तथा जवाफदेहिताबाट कहिल्यै पछि नहट्ने बताएका छन्।




















