महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएपछि सम्पर्कविहीन भएका छन्। आइतबार बिहान जंगल प्रवेश गरेका उनीहरू साँझसम्म घर नफर्किएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार महिलाहरू बिहान करिब ११ बजे पाँच र नौ जनाको दुई समूहमा निकुञ्जभित्र च्याउ टिप्न गएका थिए। सम्पर्कविहीन हुनेमा सविता चौधरी, सानु चौधरी र सुमित्रा सुनारलगायत रहेका छन्। अन्य महिलाको विवरण संकलन गरी परिवारबाट प्रमाणित गर्ने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार महिलाहरू च्याउ खोज्ने क्रममा निकुञ्जको भित्री क्षेत्रमा पुगेर बाटो बिराएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। साँझसम्म घर नफर्किएपछि तत्काल खोजी अभियान सुरु गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्रमणि गिरीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले निकुञ्जभित्र व्यापक खोजी अभियान सञ्चालन गरिरहेको छ। हालसम्म सम्पर्कविहीन महिलाहरूसँग कुनै सम्पर्क हुन नसकेको उनले बताए।
खोजी अभियानको नेतृत्व गर्न डीएसपी टेकबहादुर राउत समेत घटनास्थल पुगेका छन्। संयुक्त सुरक्षा टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएको प्रहरीले जनाएको छ।
यसैबीच, बेलडाँडी गाउँपालिकाका तीन जना महिला पनि आइतबारदेखि सम्पर्कविहीन भएका थिए। उनीहरू भने सोमबार बिहान सकुशल सम्पर्कमा आएको डीएसपी राउतले जानकारी दिएका छन्।




















