काठमाडौं । नेकपा (एमाले)ले आफ्ना संघीय सांसदहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित च्यासलस्थित पार्टी मुख्यालयमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
पार्टीको संसदीय विभागको आयोजनामा भएको प्रशिक्षणमा संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा छलफल भइरहेको विभाग प्रमुख तथा सचिव पद्मा अर्यालले जानकारी दिइन्।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा सांसदहरूलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ। यस्तै, संसद सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद सचिवालयको काम, कर्तव्य, अधिकार तथा संसदीय समितिको कार्यक्षेत्र र समितिमा उठाउनुपर्ने विषयबारे प्रशिक्षण दिनेछन्।
एमाले महासचिव शंकर पोखरेलले पार्टीको नीति, सांसदहरूको जिम्मेवारी तथा संसदमा पार्टीको नीतिअनुसार भूमिका निर्वाह गर्ने विषयमा प्रशिक्षण दिने कार्यसूची रहेको छ। साथै, सांसदहरूले आफ्नो विषयसँग सम्बन्धित पार्टीका विभागसँग नियमित समन्वय र परामर्श गर्नुपर्ने विषयमा पनि उनले स्पष्ट पार्ने जनाइएको छ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यक्रममा विभिन्न विभागका प्रमुख तथा पूर्व सदस्यहरूको पनि सहभागिता रहेको छ। सम्बन्धित विभागहरूले विषयगत विज्ञहरूको नाम सिफारिस गरी सांसदहरूलाई आवश्यक परामर्श उपलब्ध गराउन रोस्टर तयार गर्ने तयारी गरिएको उनले बताए।
प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका एमाले सांसदहरूको सहभागिता रहेको छ।





















