ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्ताव पार्टीका लागि स्वीकार्य नभएको स्पष्ट पारेका छन्। उनले यस्तो समीकरणले प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने र जनादेशको मर्मविपरीत हुने बताएका छन्।
आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले सत्ताका लागि सिद्धान्तमा सम्झौता नगर्ने कांग्रेसको अडान दोहोर्याए।
उनले विगतमा सत्ताकेन्द्रित राजनीतिका कारण कांग्रेससहित पुराना दलहरूले राजनीतिक क्षति व्यहोरेको स्वीकार गर्दै अब त्यही गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए। २०७२ सालयता सत्ता समीकरणको निरन्तर फेरबदलले राजनीतिक स्थायित्व कमजोर बनेको र दलहरूको विश्वसनीयतामा असर परेको उनको भनाइ थियो।
थापाले चुनावअघि एउटा दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने प्रवृत्तिले सरकार र प्रतिपक्षको भूमिकामा अन्योल सिर्जना गरेको उल्लेख गरे। उनले जनताको मतादेशको सम्मान गर्दै लोकतान्त्रिक मूल्य र पार्टीका सिद्धान्तका आधारमा राजनीतिक निर्णय हुनुपर्नेमा जोड दिए।
प्रदेश सरकार गठनबारे कांग्रेसको भूमिकाबारे स्पष्ट पार्दै उनले परिणाम जस्तोसुकै भए पनि पार्टीले सिद्धान्तमा सम्झौता नगर्ने बताए। तीन दलको संयुक्त सरकार गठनको प्रस्ताव जनादेशअनुकूल नभएकाले कांग्रेसले त्यसलाई अस्वीकार गरेको उनको भनाइ थियो।
सभापति थापाले सरकारमा सहभागी हुनु मात्र कांग्रेसको उद्देश्य नभएको उल्लेख गर्दै प्रभावकारी प्रतिपक्ष लोकतान्त्रिक व्यवस्थाको अपरिहार्य अंग भएकाले प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने कुनै पनि अभ्यास स्वीकार्य नहुने स्पष्ट पारे।




















