काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रदेश सरकार गठनका क्रममा वामपन्थी शक्तिहरूबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले कुनै पनि नयाँ राजनीतिक समीकरणमा अघि बढ्नुअघि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाएर विस्तृत छलफल गर्न नेतृत्वसँग आग्रह गरेका छन्।
आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत खनालले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्दै मुलुक जटिल राजनीतिक र सामाजिक अवस्थाबाट गुज्रिरहेको बताएका छन्। यस्तो परिस्थितिमा देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी तथा प्रगतिशील शक्तिहरूबीच व्यापक एकताको आवश्यकता रहेको उनको भनाइ छ।
खनालले वर्तमान सरकारको कार्यकालमा राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, नागरिकको सूचनाको हक, छिमेकी मुलुकसँगको सम्बन्ध तथा राज्यका निकायबीचको समन्वय प्रभावित भएको आरोप लगाएका छन्। उनले मुलुकमा बढ्दो विदेशी हस्तक्षेप र आन्तरिक अस्थिरताविरुद्ध सबै प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
विगतमा कम्युनिस्ट आन्दोलनले नीतिहीन र वर्गीय दृष्टिकोणविहीन ढंगले दक्षिणपन्थी शक्तिसँग सहकार्य गर्दा राजनीतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले फेरि त्यस्तै प्रवृत्ति दोहोरिन नहुने बताएका छन्। विशेषगरी प्रदेश सरकार गठनको सन्दर्भमा भइरहेका राजनीतिक अभ्यासप्रति संकेत गर्दै उनले कुनै पनि निर्णयअघि पार्टीको केन्द्रीय संयोजन समितिमा विस्तृत छलफल गरी साझा नीति तय गर्नुपर्नेमा जोड दिएका छन्।
उनले क्रान्तिकारी उद्देश्य र वर्गीय दृष्टिकोणलाई केन्द्रमा राखेर मात्रै प्रदेश सरकार गठनसम्बन्धी निर्णय गर्नुपर्ने उल्लेख गर्दै पार्टीलाई दक्षिणपन्थी सम्झौतावादतर्फ जानबाट जोगाउन संस्थागत निर्णय आवश्यक रहेको बताएका छन्।
साथै, केही नेताहरूको व्यक्तिगत स्वार्थ, पदको मोह र सम्झौतावादी प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने चेतावनी दिँदै खनालले अहिलेको आवश्यकता सही राजनीतिक कार्यदिशाका आधारमा पार्टीको पुनर्गठन र रूपान्तरण भएको बताएका छन्। उनले वामपन्थी शक्तिहरूले आपसी आग्रह, पूर्वाग्रह, दम्भ र अहंकार त्यागेर एकताको पहल गर्नुपर्नेमा समेत जोड दिएका छन्।




















