काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झुटलाई बारम्बार दोहोर्याएर सत्यका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति अहिले झन् बढेको टिप्पणी गरेका छन्।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको आधिकारिक वेबसाइट र मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गर्दै ओलीले वर्तमान सूचना प्रवाहलाई ‘महागोयबल्स शैली’सँग तुलना गरे।
उनले कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो देखाउने प्रवृत्ति बढ्दै गएको भन्दै समाज नै झुटमा रमाउन थालेको हो कि भन्ने चिन्ता व्यक्त गरे।
“कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो बनाउने शैलीलाई गोयबल्स शैली भनिन्छ। अहिले त गोयबल्सभन्दा पनि महागोयबल्स शैली चलेको छ,” ओलीले भने।
ओलीले समाजलाई सही दिशामा लैजान सूचना प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको उल्लेख गर्दै एमालेको वेबसाइट र मोबाइल एपको नयाँ संस्करणले संगठनलाई थप आधुनिक, सुदृढ र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
दरबार हत्याकाण्डबारे पनि बोले
सोही कार्यक्रममा अध्यक्ष ओलीले २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डबारे पनि टिप्पणी गर्दै तत्कालीन युवराज दीपेन्द्र शाहले उक्त घटना गराएको भन्ने निष्कर्षमा आफू सहमत नरहेको बताए।
उनले दरबार हत्याकाण्डलाई दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर ‘रेडिमेड कथा’ विश्वभर फैलाइएको दाबी गर्दै घटनाको वास्तविकता अझै सार्वजनिक हुन नसकेको बताए।
ओलीले दरबार हत्याकाण्ड कसले गर्यो भन्ने विषय अझै स्पष्ट नभएको उल्लेख गर्दै पर्याप्त अध्ययन र तथ्यका आधारमा सत्य बाहिर आउनुपर्ने धारणा व्यक्त गरे।




















