काठमाडौं । प्रधानमन्त्री बालेन शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकास र व्यवसाय विस्तारका लागि सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले महिला उद्यमीहरूले भोगिरहेका व्यवधान हटाउन सरकार प्रतिबद्ध रहेको बताउँदै उनीहरूका उत्पादनलाई देशका प्रमुख पर्यटकीय गन्तव्यमा प्रवर्द्धन गर्ने वातावरण निर्माण गरिने जानकारी दिए।
भेटका क्रममा महासंघका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण निर्माण, नेपाली उत्पादन तथा सेवाको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तार, व्यापार मेला, प्रदर्शनी, बिजनेस–टु–बिजनेस (बी–टु–बी) कार्यक्रम तथा निर्यात प्रवर्द्धनमा अनिवार्य सहभागिताको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका थिए।
महासंघले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन गरेको प्रस्तावलाई प्रधानमन्त्री शाहले सकारात्मक रूपमा स्वीकार गर्दै उक्त ब्रान्डलाई शीघ्र बजारमा ल्याउन प्रोत्साहन दिएका छन्।
त्यसैगरी, महासंघले आयोजना गर्ने वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्यको पनि माग गरिएको छ।
महिला उद्यमीहरूले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा संशोधन गरी महिला उद्यमीलाई प्राथमिकता दिन, सरकारी कार्यालय तथा शैक्षिक संस्थाले महिलाद्वारा उत्पादित वस्तु तथा सेवा अनिवार्य रूपमा खरिद गर्ने व्यवस्था लागू गर्न पनि आग्रह गरेका छन्।
छलफलमा वित्तीय सहुलियत वास्तविक महिला उद्यमीसम्म नपुगेको गुनासो गर्दै उनीहरूले सहुलियत गाउँ–गाउँसम्म विस्तार गर्न, पुँजी अभावका कारण व्यवसाय प्रभावित नहोस् भनेर धितोको वैकल्पिक व्यवस्था गर्न र वित्तीय पहुँच सहज बनाउन सरकारसँग माग गरेका छन्।
महिला उद्यमीहरूको छाता संगठन महासंघलाई सरकारका नीति निर्माण तथा विभिन्न सरकारी संयन्त्रमा सहभागी गराउनुपर्ने मागसमेत राखिएको छ। साथै, स्थानीय तहमा सीपमूलक तालिम सञ्चालनका लागि महासंघले दक्ष स्रोत व्यक्तिहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।




















