विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशमा एमालेसँगको सहकार्यलाई लिएर उत्पन्न राजनीतिक असहजतापछि कांग्रेसले सातै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो।
सोही निर्णयअनुसार कोशी प्रदेश सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन्। यसबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ।
कोशी प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग, कृषि तथा सहकारी र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्रीहरू सरकारबाट बाहिरिने तयारीमा छन्।
कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच विगतमा विभिन्न विषयमा मतभेद रहँदै आए पनि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट बाहिरिने विषयमा भने दुवै पक्ष एकमत रहेको बताइएको छ।




















