काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाली वस्तुहरूका लागि अमेरिकी बजारमा पुनः सहुलियतपूर्ण पहुँच सुनिश्चित गरिदिन अमेरिकी सरकारसँग आग्रह गरेकी छन्।
मन्त्रालयमा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत (सीडीए) स्कट अर्बमसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री यादवले नेपाल–अमेरिका व्यापार, लगानी र आर्थिक सहकार्यका विविध विषयमा छलफल गर्दै उक्त आग्रह राखेकी हुन्।
भेटका क्रममा उनले सन् १९४७ देखि कायम नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध तथा स्वास्थ्य, शिक्षा र आर्थिक विकासमा अमेरिकाले पुर्याएको सहयोगको प्रशंसा गरिन्। साथै, अमेरिकामा रहेका नेपाली डायस्पोराले दुई देशबीचको जनस्तरको सम्बन्ध अझ सुदृढ बनाएको उल्लेख गरिन्।
मन्त्री यादवले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’को अवधि सन् २०२५ डिसेम्बरमा समाप्त भइसकेको स्मरण गराउँदै नेपाली उत्पादनहरूलाई अमेरिकी बजारमा पुनः सहुलियतपूर्ण पहुँच उपलब्ध गराउन सहयोगको अपेक्षा व्यक्त गरिन्।
उनले नेपाल–अमेरिका ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’ (टिफा) अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाउँदै द्विपक्षीय व्यापार र लगानी विस्तार गर्नुपर्नेमा पनि जोड दिइन्।
नेपाल सरकारले नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गरिरहेको उल्लेख गर्दै मन्त्री यादवले जलविद्युत तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्रजस्ता क्षेत्रमा अमेरिकी लगानी बढाउन आग्रह गरिन्।
हाल संयुक्त राज्य अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य रहेको उल्लेख गर्दै उनले ऊनी गलैँचा, तयारी पोशाक र पश्मिनाजस्ता नेपाली उत्पादनहरू अमेरिकी बजारमा निर्यात भइरहेको जानकारी दिइन्। द्विपक्षीय व्यापारमा रहेको असन्तुलन कम गर्न प्रविधि हस्तान्तरण र निजी क्षेत्रबीचको साझेदारीलाई थप सुदृढ बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
मन्त्री यादवले उठाएका व्यापार सहुलियतको निरन्तरता, लगानी प्रवर्द्धन तथा व्यापारिक संवादलाई सक्रिय बनाउने विषयमा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सकारात्मक प्रतिक्रिया दिएका छन्। उनले नेपालले अघि सारेका प्रस्तावहरूमा अमेरिकी सरकारको आवश्यक सहयोग र निरन्तर साझेदारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।




















