काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राज्य संयन्त्रको दुरुपयोग गर्दै आतंकको वातावरण सिर्जना गरेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सञ्चारमाध्यमका कार्यालय र प्रतिपक्षी दलका नेताका घरअगाडि अवैध रूपमा सवारीसाधन पार्क गराउने, त्यसका भिडियो सामाजिक सञ्जालमा फैलाउने तथा ‘अल्गोरिदम’ प्रयोग गरेर जनमत प्रभावित पार्ने प्रयास भइरहेको दाबी गरे।
“घरअगाडि पार्किङ गराएर, त्यसका भिडियो अल्गोरिदममार्फत फैलाएर जसरी राज्य आतंक सिर्जना गरिएको छ, त्यो इतिहासमा कालो अक्षरले लेखिनेछ,” उनले भने।
शाहीले कर्णालीमा भिरमा अड्किएका नागरिकको समयमै उद्धार हुन नसक्दा भएको मृत्युबारे सरकारसँग जवाफ माग्दा त्यसलाई राजनीतिकरण गरिएको आरोप आफूहरूमाथि लगाइएको उल्लेख गर्दै वास्तविक राजनीतिकरण के हो भन्ने उदाहरणसहित व्याख्या गरे।
उनले सरकारमै बसेर आफ्ना कार्यकर्तामार्फत सञ्चारमाध्यमका कार्यालय र प्रतिपक्षी नेताका घरअगाडि अवैध पार्किङ गराउने, त्यसलाई सर्वसाधारणको गतिविधि जस्तो देखाउँदै सामाजिक सञ्जालमा प्रचार गर्ने कार्यलाई राजनीतिकरणको उदाहरण भएको बताए।
यस्तै, “पानी बाँड्न गएको हुँ भन्ने, पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। भिरमा अड्किएका नागरिकको उद्धार गर भन्नु राजनीतिकरण होइन,” भन्दै उनले सरकारको आलोचना गरे।
शाहीले विगतमा संसद र नेताको सुविधा तथा सुरक्षा व्यवस्थाको विरोध गर्नेहरू अहिले सत्तामा पुगेपछि त्यसकै विपरीत व्यवहार गरिरहेको आरोपसमेत लगाए। उनका अनुसार पदमा नहुँदा संसद, सरकारी सुविधा र सुरक्षाको विरोध गर्ने तर सत्तामा पुगेपछि त्यही सुविधा उपयोग गर्ने प्रवृत्तिलाई नै राजनीतिकरण भन्न सकिने बताए।




















