काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले आलोचनात्मक आवाज दबाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
मंगलबार सार्वजनिक गरेको आफ्नो धारणा मार्फत आङ्देम्बेले प्रमुख विपक्षी दलका सभापति गगनकुमार थापा, सञ्चारगृह कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन तथा भाटभटेनी सुपरमार्केट अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएका घटनाले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको बताएका हुन्।
उनले उक्त घटनालाई सामान्य संयोग नभई स्वतन्त्र प्रेस र विपक्षी नेतृत्वमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने तथा आलोचनात्मक आवाज थुन्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता भएको उल्लेख गर्दै आलोचनाबाट डराएर प्रश्न उठाउनेहरूलाई निशाना बनाउने प्रवृत्ति लोकतान्त्रिक मूल्यविपरीत हुने उनको भनाइ छ।
आङ्देम्बेले हाल सहकारी पीडित, मिटरब्याज पीडित तथा सुकुमवासीका समस्या समाधान हुन नसकेको र बेरोजगारी तथा सुशासनका सवाल थप जटिल बन्दै गएको बताएका छन्। उनले मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डलको आत्मदाहका घटनालाई समाजमा बढ्दो निराशाको संकेतका रूपमा उल्लेख गर्दै यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
सरकार जनसरोकारका मुद्दाको समाधानतर्फ केन्द्रित हुनुको सट्टा आलोचनात्मक सञ्चारमाध्यम र प्रतिपक्षी नेतामाथि दबाब सिर्जना गर्ने शैलीमा उन्मुख भएको उनको आरोप छ। उनले प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक मूल्य र मान्यताअनुकूल नरहेको टिप्पणीसमेत गरेका छन्।
आङ्देम्बेले सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु नभई लोकतन्त्रका महत्वपूर्ण अंग भएको उल्लेख गर्दै उनीहरूले राज्यका कामकारबाहीमाथि निगरानी राख्ने भूमिका निर्वाह गर्ने बताए। गेट अगाडि सवारीसाधन पार्क गरेर वा अन्य कुनै माध्यमबाट स्वतन्त्र आवाज रोक्न नसकिने उल्लेख गर्दै लोकतन्त्रमा प्रश्न उठ्ने अधिकारलाई सम्मान गर्न सरकारलाई आग्रह गरेका छन्।




















