काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख छ।
विज्ञप्तिमा रास्वपाले आफू लोकतान्त्रिक प्रणाली, विधिको शासन, पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार तथा स्वतन्त्र पत्रकारिताको पक्षमा दृढ रहेको जनाएको छ।
त्यस्तै, कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने र लोकतन्त्रको चौथो अङ्गका रूपमा रहेको सञ्चार क्षेत्रलाई सङ्कुचित पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने पार्टीको भनाइ छ।
रास्वपाले घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गर्न, सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा यसमा संलग्न जोसुकैलाई पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ।
साथै, सञ्चारकर्मी तथा सञ्चार संस्थाहरूलाई कुनै पनि प्रकारको दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको व्यावसायिक धर्म निर्वाह गर्न पार्टीले अपिल गरेको छ।





















