काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले स्वतन्त्र प्रेसलाई दबाउने, त्रसित बनाउने वा प्रतिशोधको माध्यम बनाउने कुनै पनि प्रयासले लोकतन्त्रलाई नै कमजोर बनाउने बताएका छन् ।
काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालय तथा केही नेताहरूको निवासअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति प्रतिक्रिया दिँदै उनले आलोचना सुन्न नसक्ने र असहमतिलाई दबाउन खोज्ने सत्ताले लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न नसक्ने टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले गणेश नेपालीको आत्मदाहको घटनाबारे फरक मत राखेकै कारण पत्रकारहरूसँग प्रतिशोध साँधिएको आरोप लगाएका छन् । उनले विभिन्न बहानामा कान्तिपुर अनलाइन, हिमालय टेलिभिजनलगायत सञ्चारमाध्यमका कार्यालयको गेटमा शंकास्पद गाडी छोडेर अवरोध सिर्जना गरिएको दाबी गरेका छन् ।
आलोचना सुन्न नसक्ने र असहमतिलाई दबाउन खोज्ने कुनै पनि सत्ताले लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्न नसक्ने उनले बताए ।
सचिव बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को नाम उल्लेख गर्दै उनको नेतृत्वमा रहेको सत्ताको प्रवृत्तिमाथि पनि प्रश्न उठाएका छन् । बालेनको अधिनायकवादी प्रवृत्तिले प्रेस स्वतन्त्रताको महत्व कहिले बुझ्ने होला भन्दै उनले प्रेस स्वतन्त्रताको संरक्षण हुनुपर्नेमा जोड दिएका छन्।




















