काठमाडौं । नेकपा (एमाले)का सांसद तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पुष्पराज कँडेलले राष्ट्रिय योजना आयोगको भूमिका र प्रभावकारिता क्रमशः कमजोर बन्दै गएको बताएका छन्।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै कँडेलले विगतमा योजना आयोगले अर्थ मन्त्रालयलाई नीतिगत मार्गदर्शन गर्ने अभ्यास रहे पनि अहिले आयोगको अधिकार र प्रभाव घट्दै गएको बताए। उनका अनुसार अहिले राज्यका अधिकांश निर्णय र शक्ति अर्थ मन्त्रालयमै केन्द्रित भएका छन्।
योजना आयोगको अवस्थालाई रामायणका पात्र परशुरामसँग तुलना गर्दै उनले आयोगसँग पहिलेको जस्तो शक्ति र प्रभाव नरहेको टिप्पणी गरे।
कँडेलले तथ्यांक कार्यालयलाई योजना आयोगअन्तर्गत राख्ने प्रारम्भिक सोच भए पनि ऐन निर्माणका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत लगिएकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगबीच आवश्यक सन्तुलन (चेक एन्ड ब्यालेन्स) कमजोर भएको बताए।
उनले नीति अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय तथ्यांक कार्यालयलाई योजना आयोग मातहत ल्याउन सके आयोगको गरिमा बढ्नुका साथै अनुसन्धान र योजना निर्माण प्रक्रिया थप प्रभावकारी हुने धारणा राखे। साथै, संघीय र प्रदेशस्तरीय योजना आयोगबीच प्रभावकारी समन्वय संयन्त्रको अभाव रहेको पनि उनले उल्लेख गरे।
सांसद कँडेलले बजेट विनियोजन र स्रोत व्यवस्थापनमा पनि गम्भीर कमजोरी रहेको बताए। प्रोजेक्ट बैंकमा समावेश नभएका पाँचदेखि १५ लाख रुपैयाँसम्मका हजारौँ साना योजनामा बजेट बाँड्ने प्रवृत्तिले पूँजीगत खर्च प्रभावकारी हुन नसकेको र विकास आयोजनाले अपेक्षित नतिजा दिन नसकेको उनको भनाइ थियो।
आयोजनाको स्पष्ट प्राथमिकीकरण नगरी अर्थ मन्त्रालयमा मात्रै अधिकार केन्द्रित गरिँदा विकास निर्माणका काम प्रभावित भएको कँडेलले बताए।




















