सुर्खेत । जाजरकोटमा अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने उनकी छोरी र नातिनी घाइते भएका छन्।
जिल्लाको भेरी नगरपालिका–२ राङसीमा गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ६० वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रहरीका अनुसार घटना राति परिवारका सदस्य सुतिरहेको समयमा भएको हो। पहिरोमा पुरिएकी जयशिलाकी ४० वर्षीया छोरी मेनुका शाह (थापा) र ७ वर्षीया नातिनी टिका थापा भने घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार स्थानीयवासी र प्रहरी टोलीले दुवै जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षासँगै पहिरोको जोखिम बढेकाले जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

















