काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्।
प्राप्त जानकारीअनुसार गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेका हुन्। उनको अवस्था गम्भीर रहेको जनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै आफूले तत्काल प्रधानमन्त्री, गृहमन्त्री र पार्टी सभापतिलाई घटनाबारे अवगत गराएको उल्लेख गरेका छन् ।
उनका अनुसार प्रधानमन्त्रीलाई जानकारी गराइएलगत्तै घाइते मण्डललाई उपचारका लागि हेलिकोप्टर पठाइएको छ। साथै, उनको निःशुल्क उपचारको व्यवस्था पनि मिलाइएको जानकारी दिइएको छ।
सांसद सिंहले उपचार व्यवस्थापनमा सहयोग गरेको भन्दै प्रधानमन्त्री, गृहमन्त्री र पार्टी सभापतिप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
घटनाको कारण र अन्य विवरणबारे थप जानकारी आउन बाँकी छ भने सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।




















