काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गणेश नेपालीको आत्मदाहको घटनालाई नागरिकमा बढ्दो निराशा र असन्तुष्टिको प्रतिनिधि घटना भएको बताएका छन्। उनले सरकारलाई जनतामा आशा जगाउने वातावरण बनाउन आग्रह गर्दै प्रधानमन्त्री गम्भीर बन्नुपर्ने बताएका छन्।
गणेश नेपालीको मृत्युपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै शर्माले समाजमा आशा हराए विश्वास पनि समाप्त हुने चेतावनी दिएका छन्।
‘नागरिक “फ्रस्टेसन” को प्रतिनिधि रूप हो गणेश नेपालीको आत्मदाह। हामी पुराना गएर “नयाँ” आएपछि पनि समाजमा “होप क्रिएट” किन हुन सकिरहेको छैन भन्ने विषयमा गहिरो दृष्टि आवश्यक छ,’ उनले लेखेका छन्।
शर्माले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै जनतामा बढ्दो निराशाप्रति संवेदनशील हुन आग्रह गरेका छन्।
‘प्रधानमन्त्रीजी, गम्भीरताप्रति गम्भीर बन्नोस्। समाजमा आशा मर्यो भने विश्वास जीवित रहँदैन,’ उनले उल्लेख गरेका छन्।
उनले केही वर्षअघि आत्मदाह गरेका प्रेम आचार्यको घटनालाई स्मरण गर्दै त्यतिबेला पनि राज्यले नागरिकलाई जीवनप्रति आशावादी बनाउन नसकेको उल्लेख गरेका छन्।
‘हिजो प्रेम आचार्यलाई हामीले जीवनको आशामा बाँध्न सकेनौं। आज फेरि यति छोटो समयमा गम्भीर “फ्रस्टेसन” किन देखियो?’ उनले प्रश्न गरेका छन्।
शर्माले विगतमा सबै कुरा ठीकठाक भइरहेको निष्कर्ष निकाल्ने राजनीतिक नेतृत्वको सोच गलत सावित भएको टिप्पणी गर्दै वर्तमान सरकारप्रति पनि प्रश्न उठाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘के सबै ठिकठाक भइरहेको दृश्य यही हो? सरकार आशाको होइन, त्रासको प्रतीक किन बन्दैछ?’
शर्माले गणेश नेपालीको घटनालाई सामान्य रूपमा नलिन आग्रह गर्दै यसबाट राज्य र राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।




















