काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि कडा आलोचना गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले गृहमन्त्री सुधन गुरुङलाई लक्षित गर्दै, ‘तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ?’ भन्दै प्रश्न गरेका हुन्।
उनले गणेश नेपालीको उपचारमा सरकारले आवश्यक संवेदनशीलता नदेखाएको आरोप लगाउँदै गृहमन्त्रीको गतिविधि प्रचारमुखी भएको टिप्पणी गरे।
‘गृहमन्त्री हिजो फिल्मका नायकजस्तै क्यामरा र सञ्चारमाध्यमको घेरामा कहिले एयरपोर्ट, कहिले यता, कहिले उता दौडिरहनुभएको थियो। यदि साँच्चै उपचार गर्ने उद्देश्य भएको भए आज गणेश नेपालीको मृत्यु हुने थिएन,’ शाहीले भने।
उनले गृहमन्त्रीले प्रचारभन्दा नागरिकको ज्यान बचाउने कामलाई प्राथमिकता दिनुपर्ने बताए।
‘युट्युबका लागि कति कन्टेन्ट बन्यो भन्ने महत्त्वपूर्ण होइन। महत्त्वपूर्ण कुरा गृहमन्त्रीको निर्णयबाट जनताको जीवन बच्यो कि बचेन भन्ने हो,’ उनले भने, ‘समयमै सुविधा सम्पन्न अस्पतालमा उपचारको व्यवस्था गरेको भए, आवश्यक परे एयर एम्बुलेन्समार्फत दिल्ली पठाएको भए अवस्था फरक हुन सक्थ्यो।’
शाहीले पछिल्लो समय सरकारका नीतिका कारण सर्वसाधारणको जीवन झन् कठिन बन्दै गएको आरोपसमेत लगाए।
‘सरकारको नारा जति राम्रो भए पनि गरिब र दुःखी जनताको अवस्था दिनप्रतिदिन कठिन बन्दै गएको छ। करमाथि कर थपेर जनतालाई पीडामा पारिएको छ,’ उनले भने, ‘म सरकारसँग गरिब र दुःखी जनताको आँसु पुछ्न आग्रह गर्छु।’




















