काठमाडौं । नेकपा एमालेले राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्यु सामान्य घटना नभई राज्य संयन्त्रसँग जोडिएको गम्भीर विषय भएको बताइन्।
‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ। गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन्।
सांसद सुब्बाले ट्राफिक तथा अन्य सरकारी निकायले लिने जरिवाना र त्यसको कार्यान्वयन नागरिकमैत्री छ कि छैन भन्ने विषयमा पनि सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताइन्। उनले गणेश नेपालीको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै राज्यले लिने जरिवाना उचित हो वा होइन भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखिन्।
उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग मागसमेत गरिन्।




















