काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सुकुम्वासीप्रति सरकारले अपनाएको व्यवहारप्रति कडा आपत्ति जनाउँदै उनीहरूको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केरुङले सरकारले सुकुम्वासीहरूलाई मानवीय संवेदनशीलता नदेखाई एक ठाउँबाट अर्को ठाउँमा सारेर थप पीडामा पारेको आरोप लगाए।
‘हिजो मात्रै होल्डिङ सेन्टरमा दुःखकष्टका साथ बसिरहेका सुकुम्वासीहरूलाई धुरुधुरु रुवाउँदै सरकारले अर्को ठाउँमा लगेर थुपारेको अवस्था छ,’ उनले भने।
सरकारको यस्तो व्यवहारलाई संवेदनहीन र अमानवीयको संज्ञा दिँदै उनले सुकुम्वासीहरूले कहिलेसम्म यस्तो पीडा भोग्नुपर्ने हो भन्ने प्रश्न उठाए।
‘यो संवेदनहीन र मानवीयताविहीन अवस्थाको अन्त्य कहिले हुन्छ ? देशका सुकुम्वासीहरूले कहिलेसम्म यस्तो दुःख बेहोर्नुपर्ने हो ? यसको स्पष्ट जवाफ सरकारले दिनुपर्छ,’ उनले माग गरे।




















