काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा (एमाले)का सांसद राजेन्द्र राई र सभामुख डोलप्रसाद अर्यालबीच विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
विशेष समयका लागि बोल्ने अवसर पाएपछि सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘सम्माननीय सभामुख महोदय, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? सभामुखलाई एउटा निवेदन छ,’ भन्ने अभिव्यक्ति दिएका थिए।
त्यसलगत्तै सभामुख अर्यालले उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिए।
‘माननीय सदस्य, आफ्नो भनाइ मर्यादाभित्र राख्नुहोस्। म तपाईंलाई यसभन्दा अगाडि बोल्न अनुमति दिन्नँ। कृपया बस्नुहोस्,’ सभामुखले भने।
सभामुखले बोल्न रोकेपछि एमाले सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। यसैबीच सत्तारुढ दलकी सांसद ज्वाला सङ्ग्रौलाले सांसद राईको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरिन्।
त्यसपछि सभामुखले सांसद राईलाई आफ्नो भनाइ सच्याएर माफी माग्ने अवसर दिँदै पुनः बोल्न समय दिएका थिए। तर दोस्रोपटक पनि राईले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै, ‘तपाईंले पाँच वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईंले कुरा सुन्न पर्दैन ?’ भन्ने टिप्पणी गरे।
राईको उक्त अभिव्यक्तिपछि सदनमा होहल्ला बढेपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।




















