काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार झासँगै तत्कालीन बोर्ड सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई कसूरदार ठहर गरेको हो।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार झा, ज्ञवाली र उप्रेतीलाई ६–६ महिना कैद तथा ५०–५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरिएको छ।
तत्कालीन अध्यक्षका रूपमा सार्वजनिक पदमा बहाल रहेको अवस्थालाई आधार मानेर दीगम्बर झालाई थप ६ महिना कैद सजाय पनि सुनाइएको छ। यससँगै उहाँलाई कुल १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।
धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई भने जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने निर्णय अदालतले गरेको छ।
यही टेरामक्स खरिद प्रकरणमा मोहनबहादुर बस्नेतसहित १६ जनाले भने अदालतबाट सफाइ पाएका छन्।




















