काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति गगन थापाले नै एकता नचाहेको आरोप लगाएको छ। कांग्रेस नेता मीनबहादुर विश्वकर्माले अधिकतम प्रयास गरिए पनि पार्टी एकता हुन नसकेको बताए।
‘पार्टी विभाजन हुन नदिन हदैसम्मको लचकता अपनाइएको छ। प्रयास गरिँदै आएको छ। तर, ५ महिना बित्दा पनि कुनै परिणाम देखिएको छैन। संस्थापन पक्षले एकताका लागि कुनै सार्थकता देखाएको छैन,’ सञ्चारकर्मीसँग उनले भने।
उनले १५औं महाधिवेशनमा सँगसँगै जानसक्ने अवस्था नभएको बताए। नेता विश्वकर्माले एकताले सार्थकता नपाए वैकल्पिक बाटोमा पनि जान सकिने बताए। ‘वैकल्पिक बाटोमा जाने विषयमा पनि छलफल भइरहेको छ। सभापति र उपसभापतिले नै एकता भाँड्न उद्धत हुनुहुन्छ। यसले सँगै जानसक्ने अवस्था देखिएको छैन,’ उनले भने।
संस्थापन इतर समूहले १५औं महाधिवेशनका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ। त्यस्तै बीपी जयन्ती मनाउने तयारी पनि गरिरहेको नेता विश्वकर्माले बताए।




















