काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधनका नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले संविधान संशोधनजस्तो संवेदनशील विषयमा पर्याप्त राजनीतिक संवाद हुन नसकेको भन्दै सरकारको तयारीमाथि प्रश्न उठाए।
उनले संघीय शासन प्रणाली र राज्य संरचनासम्बन्धी व्यवस्थामाथि छेडखानी गर्ने प्रयास भइरहेको आरोप लगाउँदै हिमाल, पहाड, तराई र मधेशको संवेदनशीलतालाई बेवास्ता गरेर संविधान संशोधन गर्न नसकिने बताए।
‘संविधान संशोधन जस्तो गम्भीर विषयमा अहिलेसम्म गम्भीर र घनिभूत संवाद हुन सकेको छैन। संघीयता र राज्य संरचनाको परिकल्पनामाथि छेडखानी भइरहेको छ,’ उनले भने।
आङदेम्बेले संविधान संशोधनका लागि सरकारले गठन गरेको कार्यदलको औचित्यमाथि पनि प्रश्न उठाउँदै त्यसलाई अपरिपक्व तयारीको संज्ञा दिए।
प्रधानमन्त्री बालेन्द्र शाहले निर्वाचनअघि जनकपुर र झापामा संघीयतालाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै उनले रास्वपाको पहिलो महाधिवेशनबाट प्रदेशसभा खारेजीको प्रस्ताव पारित भएको विषयसँग त्यसको मेल कसरी खान्छ भन्ने प्रश्न गरे।
‘निर्वाचनअघि संघीयता बलियो बनाउने भनियो। तर चितवनमा भएको रास्वपाको पहिलो महाधिवेशनबाट प्रदेशसभा खारेजीको प्रस्ताव पारित गरियो। यी दुई धारणा कसरी मिल्छन्?’ उनले प्रश्न गरे।
आङदेम्बेले पूर्वाधारमन्त्री सुनील लम्सालले ‘काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्छौं र मेयरलाई कारबाही गर्छौं’ दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए।
‘उहाँले प्रदेशमन्त्रीलाई थुन्छु, मेयरलाई कारबाही गर्छु भन्नुभएको रहेछ। के यो लोकतान्त्रिक अभ्यासअनुकूल हो?’ उनले प्रश्न गरे।
प्रदेशमन्त्री र स्थानीय तहका प्रमुखहरू जनताबाट निर्वाचित प्रतिनिधि भएकाले उनीहरूलाई लक्षित गर्दै कहिले ‘खुट्टा भाँचिदिन्छु’ त कहिले ‘थुन्छु’ भन्ने अभिव्यक्ति दिनु लोकतान्त्रिक संस्कृतिसँग मेल नखाने उनको भनाइ थियो।




















