काठमाडौं । पूर्वाधारमन्त्री सुनील लम्सालले जनताको काममा बेवास्ता गर्ने प्रदेशमन्त्री र स्थानीय तहका प्रमुखविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएका छन्। तनहुँको शुक्लागण्डकीमा आयोजित कार्यक्रममा बोल्दै उनले जिम्मेवारी पूरा नगर्ने जनप्रतिनिधिलाई कानुनअनुसार कारबाही गरिने बताएका हुन्।
आइतबार शुक्लागण्डकी नगरपालिका–५ दुलेगौँडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा लम्सालले जनताको सेवा गर्न असफल हुने पदाधिकारीलाई छुट नदिइने बताए।
उनले भने, ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं हामी।’
लम्सालले जनप्रतिनिधि र सरकारी पदाधिकारी जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै सेवा प्रवाहमा लापरवाही गर्ने जो–कोहीमाथि कानुनी प्रक्रिया अघि बढाइने बताए।
उनले नागरिकलाई दुःख दिने, विकास निर्माणमा अवरोध गर्ने वा आफ्नो जिम्मेवारी पूरा नगर्ने स्थानीय तहका प्रमुख तथा अन्य पदाधिकारीबारे सम्बन्धित निकायलाई जानकारी गराउन पनि सर्वसाधारणलाई आग्रह गरे।
‘यदि कुनै स्थानीय तहका प्रमुख वा जिम्मेवार पदाधिकारीले जनताको काम नगरेको, नागरिकलाई अपहेलना गरेको वा दुःख दिएको पाइएमा हामीलाई जानकारी दिनुहोस्। त्यस्ता गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ,’ उनले भने।
लम्साल यसअघि पनि काम नगर्ने ठेकेदारहरूको ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएपछि विवादमा परेका थिए। त्यसबेला उनको अभिव्यक्तिको व्यापक आलोचना भएको थियो। अहिले प्रदेशमन्त्रीलाई नै ‘थुन्छौं’ भन्ने अभिव्यक्ति दिएपछि उनको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ।




















