काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णाली नदीमा भएको बस दुर्घटनापछि उद्धार कार्यमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले उद्धारमा भएको ढिलाइप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।
शाहीले दुर्घटनापछि भीरमा अड्किएका यात्रुहरूले ज्यान बचाइदिन गुहार मागिरहे पनि समयमै उद्धार हुन नसकेको बताए। उनका अनुसार पीडितहरू जीवनका लागि हारगुहार गरिरहँदा सरकारले आवश्यक उद्धारको व्यवस्था गर्न सकेन।
उनले भने, ‘भीरमा अड्किएर उहाँहरूले जीवनको भीख मागिरहनुभएको थियो। उहाँहरूको गुहारले नदी किनार नै थर्कियो। डाँको लगाउँदा–लगाउँदै स्वर सुक्यो, आशा पनि सकियो, तर उद्धार आएन। त्यही बेला आकाशमा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि होइन, मन्त्रीज्यूको सवारीका लागि थियो।’
शाहीले सरकारले उद्धारका लागि हेलिकप्टर परिचालन गर्न नसकेको, तर मन्त्रीहरूको आवतजावतका लागि भने हेलिकप्टर प्रयोग भइरहेको भन्दै आलोचना गरे। उनले उद्धार टोलीसँग पर्याप्त साधन–स्रोतसमेत नभएको दाबी गरे।
उनले प्रदेश सरकारतर्फ संकेत गर्दै जनताको जीवनभन्दा राजनीतिक भागबण्डामा बढी ध्यान दिइएको आरोप पनि लगाए।
संसद्मा बोल्दै शाहीले कर्णालीका नागरिकप्रति राज्यको व्यवहारमाथि प्रश्न उठाए। ‘कर्णाली नेपालमै हो कि होइन? मन्त्रीहरू हेलिकप्टरमा सयर गरिरहेका बेला कर्णालीमा नागरिक डुबिरहेका थिए। उनीहरूको उद्धार गर्न किन हेलिकप्टर पठाइएन?’ उनले प्रश्न गरे।
उनले कर्णालीका नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग जवाफ माग्दै सभामुखले यस विषयमा रुलिङ गर्नुपर्ने मागसमेत गरे। शाहीले कर्णालीमा जन्मिनु नै अभिशापजस्तो महसुस हुने अवस्था सिर्जना भएको टिप्पणी गर्दै उद्धार प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।




















