कर्णाली । डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आज बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जगदुल्ला-४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आज दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका-८ डोल्पाका ३८ वर्षीय विष्णु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पद्म रावलले जानकारी दिए । उक्त जिपमा चालकसहित १२ जना सवार रहेकामा अन्य ११ जना घाइते भएका छन् ।
उनका अनुसार घाइते हुनेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-७ का ४६ वर्षीय नन्दराम शाही, वडा नं ३ का २६ वर्षीय धनबहादुर डाँगी, जगदुल्ला गाउँपालिका-६ का २८ वर्षीय लालदेवी रोकाय, चार वर्षीय आवास रोकाय, २४ वर्षीया कर्णसरा बुढा, २४ वर्षीय धीरेन्द्र बूढाथोकी, दुई वर्षीय प्रितम बुढा, काइके गाउँपालिका-३ का ४४ वर्षीय भीमप्रसाद बुढा रहेका छन् ।
त्यस्तै, उक्त दुर्घटनामा परी जुम्लाको सिञ्जा गाउँपालिका-३ का ६२ वर्षीय डिल्लीप्रसाद उपाध्याय, गोठीचौर गाउँपालिका-४ का ६४ वर्षीय नित्यानन्द अधिकारी र बोलेरो चालक चन्दननाथ नगरपालिका-८ का अन्दाजी ३५ वर्षीय विन्दास रावल घाइते भएका प्रहरी निरीक्षक रावलले जानकारी दिए ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स र एउटा गाडीमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको सूचना अधिकारी रावलले बताए । उनका अनुसार दुर्घटना कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।


















