काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन्।
आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकार लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए।
उनले सरकारका पहिलो १०० दिन नागरिकलाई परिणाममुखी काम देखाउन केन्द्रित रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता हनन गर्न खोजिएको भन्ने आशंकाप्रति सरकार गम्भीर रहेको बताए।
‘हामी १०० दिन नागरिकलाई परिणाम देखाउन अत्यन्तै व्यस्त थियौं। यसबीचमा सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्न खोज्यो भन्ने आशंका धेरैमा रहेको पाएँ। तर यस विषयमा चिन्तित नहुन सम्पूर्ण पत्रकार मित्रहरूलाई अनुरोध गर्न चाहन्छु। लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्नेमा सरकार पूर्ण रूपमा स्पष्ट छ,’ मन्त्री तिमिल्सिनाले भने।
उनले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार कार्यान्वयनमा कुनै अवरोध भए त्यसको समाधानका लागि कानुनी र संस्थागत व्यवस्था रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रतासम्बन्धी कुनै गुनासो वा समस्या भए संवाद र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताए।
मन्त्री तिमिल्सिनाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रेस स्वतन्त्रताको संरक्षणका लागि प्रतिबद्ध रहेको दोहोर्याउँदै पत्रकारितालाई लोकतन्त्रको चौथो अंगका रूपमा थप बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन सरकार कटिबद्ध रहेको बताए।
उनले पत्रकारिता क्षेत्रले पनि आफ्नो गरिमा, विश्वसनीयता र सामाजिक दायित्वलाई कायम राख्दै जिम्मेवार अभ्यासलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता औंल्याइन्।
उनले संघीय सञ्चार कानुन कस्तो हुनुपर्छ, पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन कसरी गर्ने तथा पत्रकारहरूको व्यावसायिक उत्तरदायित्व कसरी सुदृढ बनाउने भन्ने विषय सम्मेलनका प्रमुख एजेन्डा रहेको जानकारी दिइन्।




















