काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको स्वीकार गर्दै त्यसबाट उठेर प्रतिवाद र प्रतिरोध गर्ने बताएका छन् ।
शनिबार आयोजित नेकपा (एमाले) को पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कठिनाइ जीवनको स्वाभाविक पाटो भएको उल्लेख गर्दै अहिलेको अवस्था स्थायी नहुने जिकिर गरे ।
उनले भने, “हामी कठिनाइमा छौँ। यतिबेला कठिनाइमा छौँ। कठिनाइ भनेको जीवनमा आइपर्ने चिज हो। निर्जीव तत्वलाई कहिल्यै कठिनाइ पर्दैन। हाम्रो पार्टीलाई कठिनाइ आएको छ भनेको हामी जीवित छौँ। हामीले धक्का खाएका छौँ। हामी पछारिएका हौँला, तर हामी जीवित छौँ। हामी उठ्छौँ। हामी प्रतिवाद गर्छौँ। हामी प्रतिरोध पनि गर्छौँ।”
अध्यक्ष ओलीले आफ्नो पार्टीमाथि पटक–पटक राजनीतिक हमला भएको दाबी गर्दै यसपटक सबैभन्दा ठूलो गठबन्धन बनाएर एमालेमाथि आक्रमण गरिएको बताए ।
उनले “यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा भयानक हमला भयो। सबैभन्दा ठूलो गठजोडका साथ हमला भयो,” भन्दै एमालेले प्रगति र विकासको प्रयास गर्दा त्यसलाई रोक्न विभिन्न शक्ति सक्रिय भएको आरोप लगाए ।
अध्यक्ष ओलीले चिनियाँ नेता माओत्सेतुङको भनाइ उद्धृत गर्दै सङ्घर्षमा साहस र आत्मविश्वास आवश्यक पर्ने उल्लेख गरे । उनले “जसले हिम्मत गर्छ, आँट गर्छ, त्यसले मात्रै बादशाहलाई घोडाबाट झार्न सक्छ। कायरहरूले त्यसो गर्न सक्दैनन्। सजिलो अवस्थामा त सबैले हिम्मत देखाउँछन्, तर अप्ठ्यारो परिस्थितिमा मात्रै वास्तविक साहसको परीक्षा हुन्छ,” भने।
उनले अहिलेको अवस्था पार्टीका नेता–कार्यकर्ताका लागि परीक्षा जस्तै भएको उल्लेख गर्दै सबैलाई धैर्य, आत्मविश्वास र दृढताका साथ पार्टीलाई पुनः सशक्त बनाउने अभियानमा जुट्न आग्रह गरे ।




















