काठमाडौं । प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक शुक्रबार स्थगित भएको छ।
संसद् सचिवालयका अनुसार बैठक सुरु भएको करिब १७ मिनेटपछि प्रत्यक्ष प्रसारणमा अडियो नआएको र बैठकको अभिलेखीकरण (रेकर्डिङ) मा समेत समस्या देखिएपछि बैठक स्थगित गरिएको हो।
बैठकका क्रममा केही सांसदहरूले आफ्ना धारणा राखिसकेका थिए। तर अडियो प्रणालीमा समस्या आएपछि कार्यवाही अगाडि बढाउन नसकिएको सचिवालयले जनाएको छ। प्राविधिक समस्या समाधान भएलगत्तै बैठक पुनः सञ्चालन गरिने बताइएको छ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भई आएका विभिन्न विधेयकसम्बन्धी सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ। प्रतिनिधिसभाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गरी राष्ट्रिय सभामा पठाएको छ।
यस्तै, आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि समूहीकृत छलफल गर्ने कार्यसूची पनि रहेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल गर्ने तयारी छ।
यसका साथै परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि पनि आजै समूहीकृत छलफल गर्ने कार्यसूची रहेको छ।




















