गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदेल नियन्त्रण गर्न राखिएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ६० वर्षीया हुमकला भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो। उनका श्रीमान् ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरबाट करिब १५० मिटर टाढा रहेको बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए।
सोही करेन्टमा परेर गम्भीर घाइते भएकी हुमकलालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो। तर, उपचारकै क्रममा बिहान ३ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले करेन्ट प्रवाह गर्ने भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।



















