काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन प्रणाली मंगलबारदेखि देशभर फैलिएको जनाएको छ।
विभागले मनसुन आगमन बुलेटिन–३ सार्वजनिक गर्दै असार १६ गतेदेखि मनसुन देशभर फैलिएको जानकारी दिएको हो।
विभागका अनुसार यस वर्षको मनसुन असार ५ गते कोसी प्रदेशका केही भूभागबाट नेपाल प्रवेश गरेको थियो। त्यसपछि असार ८ गतेसम्म कोसी प्रदेशको बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म विस्तार भएको थियो।
त्यसयता मनसुन क्रमशः पश्चिमतर्फ फैलिँदै गएको र असार १६ गतेसम्म आइपुग्दा देशका सबै भूभागमा यसको प्रभाव पुगेको विभागले जनाएको छ।
विभागका अनुसार यस वर्ष मनसुन नेपाल प्रवेश गरेको ११ दिनपछि देशभर फैलिएको हो। गत वर्ष भने मनसुन नेपाल प्रवेश गरेको आठ दिनमै देशभर विस्तार भएको थियो।
मौसम पूर्वानुमान महाशाखाले मनसुन अवधिभर मौसमको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। महाशाखाले नियमित रूपमा अद्यावधिक गरिने मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन पनि सर्वसाधारणसँग आग्रह गरेको छ।




















