रूपन्देही । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय बृहत् लुम्बिनी प्रदेश भेला प्रदेश राजधानी देउखुरीको लमहीमा जारी छ।
पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तय गर्ने तथा स्थानीय तहसम्म समन्वय विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको भेलामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।
भेलाको उद्घाटन कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अध्यक्षता तथा निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौरको प्रमुख आतिथ्यतामा गरिएको हो। कार्यक्रममा निवर्तमान केन्द्रीय सदस्य गुरु बराल, कुन्दनराज काफ्ले लगायतका नेताहरू पनि सहभागी छन्।
भेलामा संगठनात्मक गतिविधि, पार्टीभित्रको एकता, आगामी निर्वाचनको तयारी तथा प्रदेशस्तरीय राजनीतिक रणनीतिबारे विस्तृत छलफल भइरहेको आयोजक पक्षले जनाएको छ। कांग्रेसभित्र एकता अपरिहार्य रहेको र फुटेर नभई जुटेर अघि बढ्नुपर्ने विषयमा सहभागी नेताहरूले जोड दिएका छन्।
यद्यपि, विगतमा देउवा समूहमा सक्रिय मानिएका लुम्बिनी प्रदेशका केही प्रभावशाली नेताहरू भने भेलामा अनुपस्थित रहेका छन्।




















