काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताको संकेत भएको बताएका छन्।
६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक उपलब्धिलाई सङ्कटमा पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए।
उनले नेतृत्वको अकर्मण्यता र दूरदृष्टिको अभावलाई ढाकछोप गर्न शासकीय स्वरूपमाथि प्रश्न उठाउने प्रवृत्ति देखिएको टिप्पणी गरे। सात प्रदेश र तीन तहको सरकारसहितको संघीय संरचना नेपाली जनताको लामो संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले क्षणिक लहर, आवेग वा उत्तेजनाका आधारमा यसलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए।
‘हामी फेरि त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने अवस्थातर्फ फर्किएको अनुभूति भइरहेको छ, जुन राम्रो संकेत होइन,’ आङदेम्बेले भने, ‘हाम्रो अकर्मण्यता र अपरिपक्व सोचको दोष शासकीय स्वरूपमाथि थोपर्न खोजिएको छ। पर्याप्त अभ्यास नै नगरी यसको औचित्यमाथि प्रश्न उठाउनु गलत हो।’
आङदेम्बेले संघीय व्यवस्थालाई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले वर्तमान व्यवस्थाप्रति अनावश्यक संशय उत्पन्न गर्ने काम कसैले पनि गर्न नहुने बताए।
संसद् दिवसलाई केवल औपचारिक उत्सवका रूपमा सीमित नराखी देश र जनताप्रतिको दृढ प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो। साथै, उक्त प्रतिबद्धतालाई ठोस अठोट र संकल्पमा रूपान्तरण गर्दै प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक दल र सरोकारवालालाई उनले आह्वान गरे।




















