काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले सरकारको पहिलो दायित्व राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा सुनिश्चित गर्नु रहेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकार आफ्नो मूल जिम्मेवारीबाट विमुख भए त्यसको औचित्य समाप्त हुने धारणा व्यक्त गरे ।
नेता रावलले सरकारी जग्गा अतिक्रमण गर्ने व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्नेमा आफू सहमत रहेको उल्लेख गर्दै वास्तविक भूमिहीन, श्रमिक तथा विपन्न नागरिकको संरक्षण गर्नु राज्यको पहिलो दायित्व भएको बताए ।
उनले राष्ट्रिय सीमा र नागरिकको सुरक्षालाई राज्यको आधारभूत जिम्मेवारीका रूपमा व्याख्या गर्दै त्यसमा सरकार असफल भए शासन सञ्चालनको नैतिक आधार कमजोर हुने टिप्पणी गरे।
रावलले नेपालको संविधानमा परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त तथा राष्ट्रिय हितका आधारमा सञ्चालन गर्ने र विगतका सन्धिहरूको पुनरावलोकन गरी असमान सन्धि नगर्ने व्यवस्था रहेको स्मरण गराउँदै व्यवहारमा त्यसको पूर्ण पालना हुन नसकेको दाबी गरे ।
उनले माथिल्लो कर्णाली तथा महाकालीसँग सम्बन्धित सम्झौताप्रति असन्तुष्टि जनाउँदै ती क्षेत्रमा असमान सन्धि भएको आफ्नो धारणा पनि व्यक्त गरे ।




















