काठमाडौं । नेपाली कांग्रेसले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरेर देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दिशामा सबै राजनीतिक दल, सरकार र सरोकारवाला निकायबीच साझा प्रतिबद्धता आवश्यक रहेको बताएको छ।
राष्ट्रिय धान दिवसको अवसरमा जारी विज्ञप्तिमार्फत प्रमुख प्रतिपक्षी दल कांग्रेसले धान तथा चामलको आयात वर्षेनि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै धान दिवसलाई केवल औपचारिक उत्सवमा सीमित नराखी कृषि विकासप्रतिको प्रतिबद्धता जनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएको हो।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेद्वारा जारी विज्ञप्तिमा उर्वर कृषि भूमि बाँझो रहने अवस्थाको अन्त्य गर्दै युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्नुपर्ने, कृषिलाई सम्मानित र लाभदायी पेसाका रूपमा विकास गर्नुपर्ने तथा उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न साझा प्रयास आवश्यक रहेको उल्लेख छ।
कांग्रेसले किसानको हक–हित संरक्षण, कृषि क्षेत्रको आधुनिकीकरण, खाद्य सुरक्षाको सुनिश्चितता र कृषिको दिगो विकासका पक्षमा पार्टी सदैव प्रतिबद्ध रहेको जनाएको छ। संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक सुनिश्चित गरेको उल्लेख गर्दै उक्त हकको प्रभावकारी कार्यान्वयनका लागि किसानमैत्री नीति, उत्पादनमुखी कृषि प्रणाली तथा कृषि क्षेत्रमा राज्यको लगानीलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको कांग्रेसको धारणा छ।
विज्ञप्तिमा राष्ट्रिय धान दिवसले कृषि उत्पादन वृद्धि, किसानको सम्मान, खाद्य सुरक्षाको सुदृढीकरण र समृद्ध नेपालको निर्माणका लागि सबैलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।




















